FAQs Complain Problems

बैठक नं. ११ को निर्णयहरु (२०७४।०६।१०)

कार्यपालिकाको बैठक नं. ११ का निर्णयहरु । 

निर्णय नं

  1. हामीले प्रयोग गर्दै आएका प्लाष्टिकको झोला कुहिन एक सय बर्ष समय लाग्ने, प्लाष्टिकले माटोको गुणस्तर घटाउने, प्रदुषण बढाउने र मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने  भएको हुँदा मिति २०७४।६।२२ गते दिन देखि घोराही उपमहानगरपालिका केन्द्रीय कार्यालय र वडा कार्यालय परिसरभित्र प्लाष्टिकका झोलाहरु प्रयोगमा प्रतिवन्ध लगाउने साथै उपमहानगर मातहतका विषयगत शाखा (कार्यालय) र अन्य सरकारी कार्यालयहरुमा कार्तिक १ गतेदेखि प्लाष्टिक झोलाहरुको प्रयोगमा सम्बन्धित निकायलाई जानकारी गराई पूर्णरुपमा प्रतिवन्ध लगाउने । यो निर्णय पश्चात पहिलो पटक प्रयोग गर्ने व्यक्तिलाई जानकारी गराएर छोड्ने, दोश्रो पटक प्रयोग गरेमा चेतावनी दिने र तेश्रो पटक पनि प्रयोग गरेको पाईएमा प्रति पटक रु ५० का दरले जरिवान गर्ने निर्णय गरियो । साथै उक्त कार्यमा आवश्यक सहयोग पुर्याउन जिल्ला प्रशासन कार्यालय दाङ्गलाई अनुरोध गर्ने निर्णय समेत गरियो ।
  2. घोराही उपमहानगरपालिका वडा नं १४ को मिति २०७४।५।०६ गते उद्योग वाणिज्य संघ दाङ्गका अध्यक्ष श्री नारायण भुषालको आतिथ्यतामा बसेको वैठकले २०७४।०६।०१ गतेदेखि वडा नं १४ भित्र प्लाष्टिकजन्य गिलासहरुको प्रयोगमा निषेध गरेको छ । साथै प्लाष्टिकजन्य गिलासले मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने र प्रदुषण समेत बढाउने हुँदा उल्लिखित वार्डको कार्यलाई प्रोत्साहित गर्न एवं नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखि मिति २०७४।७। १ गते देखि घोराही उपमहानगरपालिका क्षेत्र भित्र प्लाष्टिकका गिलासहरुको प्रयोगमा पूर्णरुपमा प्रतिवन्ध लगाउँदै वैकल्पिक सामानहरुको प्रयोगमा प्रोत्साहित गर्ने । उल्लेखित निर्णयको प्रभावकारी कार्यान्वयनका लागि वडा स्तरिय प्लाष्टिकका झोला, प्लाष्टिकजन्य गिलासको प्रयोगबाट उत्पन्न हुने समस्याको  पहिचान तथा समाधान सम्वन्धि सचेतना एवम् अन्तर्कृया,’ कार्यक्रमहरु संचालन गर्नको लागि वडा सबै वडा समितिलाई जिम्मेवारी तोक्ने । साथै नगर क्षेत्र भित्रका सबै व्यापारीहरुलाई असोज मसान्तसम्म मौजाद रहेका प्लाष्टिक गिलास व्यवसथापन गर्न आग्रह गर्ने निर्णय गरियो ।
  3. प्रजातान्त्रिक आन्दोलनका लौह पुरुष स्व. गणेशमान सिँहको पूर्णकदको शालिक राख्नको लागि घोराही उपमहानगरपालिका वार्ड नं १७ को  गुलारिया पार्क भित्र पूर्व पट्टिको करिब चार धुर जग्गा उपलब्ध गराउने निर्णय गरियो । 
  4. घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई उक्त संस्थाको मिति २०७४।५।२६ चलानी नं ३१ को पत्रमा माग बमोजिमका  स्थानमा पीच सडक काट्नको लागि अनुमति प्रदान गर्ने र यस सम्बन्धि अन्य व्यवस्थापकीय कार्य योजना शाखाले तय गरे बमोजिम हुनेगरी निर्णय गरियो ।
  5. संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७४।६।०४ को निर्णयानुसार यस उपमहानगरपालिकामा कार्यरत  कार्यकारी अधिकृत श्री कृष्णप्रसाद सापकोटा श्री तिलोत्तमा नगरपालिका रुपन्देहीको कार्यकारी पदमा सरुवा हुनु भएको हुँदा यस उपमहानगरपालिकामा कार्यरत रहँदा नगरको समग्र विकास, सेवा प्रवाह लगायत संस्थागत विकासमा उहाँले पुर्याएको योगदानको उच्च मूल्याँकन गर्दै आगामी कार्यकालको सफलताको कामना गर्ने निर्णय गरियो।
  6. घोराही उपमहानगरपालिका वार्ड नं १ का वडा अध्यक्ष एवं नगर कार्यपालिकाका सदस्य श्री राममणि पाण्डेयकी ममतामयि आमा श्री कुमारी पाण्डेयको ९३ वर्षको उमेर मिति २०७४।६।७ गते भएको निधनप्रति गहिरो शोकप्रकट सहित दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्ने निर्णय गरियो ।